• असार २३ २०८१, शनिबार

कोशीको बाढीबाट हुने क्षति रोक्न उच्च सतर्कता अपनाइँदै

असार २० २०८१, बुधबार

काठमाडौँ । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुन कुनै समयमा बढ्न सक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्ता सहितको आवश्यक तयारी अघि बढाएको हो ।

बाढी पूर्व तयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ । बैठकले नदीमा आउन सक्ने बाढीको आकलन गर्दै सूचना सम्प्रेषण र विपद् पूर्व तयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ ।

बाढीसँगै कोशीमा डुंगा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय समेत गरेको छ ।

सप्तकोशीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ ।

ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण समेत गरेको छ । सप्तकोशी नदीमा केहि दिनयता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।