• असार २० २०८१, बुधबार

१३ वर्षीया बालिकाको पेटमा आफ्नै शिक्षकको ५ महिनाको गर्भ

असार १८ २०८१, सोमबार

काठमाडौं । खोटोटाङमा १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–११ का शिक्षक शम्भुप्रसाद घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।

छात्रालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेका ५८ वर्षीय शिक्षक घिमिरेविरुद्ध आइतबार मुद्दा दर्ता गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरिएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको उजुरीका आधारमा पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘आफ्नै शिक्षकले बलात्कार गरेपछि बालिकाको गर्भमा बच्चा बसेको रहेछ । बच्चा हुर्कंदै गएपछि आफन्तले सोधिखोजी गर्दा आफ्नै विद्यालयमा कार्यरत शिक्षकले पटकपटक बलात्कार गरेको बताएकी रहिछन्’, उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरिएका शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको छ ।’

मुद्दा दर्ता गरेलगत्तै आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

बालिकालाई गत पुसदेखि लगातार बलात्कार गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपसहित प्रहरीमा जाहेरी परेपछि प्रहरीले शिक्षक घिमिरेलाई शनिबार नै पक्राउ गरेको थियो । बलात्कार आरोपमा शिक्षकलाई पक्राउ गरिएलगत्तै बालिकालाई शनिबार नै उद्धार गरिएको प्रनाउ खड्काले जानकारी दिए ।

उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएकी बालिकाको उपचार सम्भव नभएपछि अस्पतालले आइतबार रिफर गरेको छ । बालिकाको पेटमा पाँच महिनाको बच्चा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अस्पतालले रिफर गरेपछि आफन्तको जिम्मा लगाएर थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिएको प्रनाउ खड्काले बताए । बालिकालाई सोमबार थप उपचारका लागि राजधानी काठमाडौँ लैजाने तयारी गरिएको छ ।