• असार १८ २०८१, सोमबार

रौतहटमा बस दुर्घटनामा, १ जनाको मृत्यु, ८ जना घाइते

असार १६ २०८१, शनिबार

रौतहट । रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।

अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।