• असार १७ २०८१, आईतवार

रोजगारीका लागि नेपाली नागरिकलाई इजरायल नपठाउन अपिल

असार १४ २०८१, बिहीबार

नागरिक अगुवाहरूले रोजगारीका लागि नेपाली नागरिकलाई इजरायल नपठाउन अपिल गरेका छन् ।

उनीहरूले शुक्रबार एक अपिल जारी गर्दै मानवताका सबै मापदण्डहरु उल्लङ्घन गर्दै र संयुक्त राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलना गर्दै युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकहरूलाई पठाएर उनीहरुको जीवनप्रति खेलवाड नगर्न  सरकारसँग आग्रह गरेका छन् ।

उनीहरूले भनेका छन्, ‘२०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउन परेको थियो । एकजना हालसम्म बेपत्ता छन् । सम्बद्ध मन्त्रालय र नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न पाउने मौलिक हकबाट उनीहरूलाई वञ्चित नगर्न र मानव अधिकारसम्बन्धी न्यूनतम प्रतिबद्धताहरूको पालना गर्न हाम्रो अनुरोध छ ।’

देशमा रोजगारीको सुनिश्चितता नगरिँदा रोजगारीको बाध्यताले नागरिकहरूले आफ्नो ज्यान जोखिममा पार्न तयार भएको अवस्थामा तिनको ज्यानको सुरक्षा गर्न नसक्नु राज्य र सरकार आफ्नो दायित्वबाट विमुख भएको उनीहरूको टिप्पणी छ ।

उनीहरूले भनेका छन्, ‘नेपाली कामदारहरूको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायल पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपाल राष्ट्रको सहयोग र समर्थन रहेको हो भन्ने प्रश्न पनि हामीले सोध्नै पर्छ ।
नेपाली नागरिकलाई कामको बहानामा जानाजान युद्ध क्षेत्रमा धकेल्नु हुँदैन ।’

हालै श्रम मन्त्रालयले इजरायल रोजगारीका लागि विज्ञापन खुलाएको थियो ।