• असार १७ २०८१, आईतवार

क्याम्पस प्रमुखको हत्या आरोपमा सातजनामाथि चल्यो मुद्दा मारेको मुद्दा

असार १४ २०८१, बिहीबार

सिमरा । बाराको कलैयास्थित रामराजा मोहनविक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्या आरोपमा सातजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

प्रहरीले क्याम्पस प्रमुख कुशवाहको हत्या अभियोगमा आदर्श कोतवाल गाउँपालिका–२ खजुरियाका ५४ वर्षीय विनोद राउत कुर्मी र ३४ वर्षीय राधेशकुमार पटेलसहित सातजनामाथि मंगलबार मुद्दा दर्ता गरेको छ ।

यसैगरी, प्रहरीले ३२ वर्षीय अवधलाप्रसाद कुशवाह, २९ वर्षीय चाँदसीप्रसाद कुशवाह, बतराका २७ वर्षीय श्रवणकुमार साह, कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५० वर्षीय ब्रह्मदेव राम र करैयामाई गाउँपालिका–७ पिपरा टोलका ५० वर्षीय मोतीलाल चौधरीमाथि मुद्दा दर्ता गरेको छ ।

उनीहरूमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दाअन्तर्गत बारा जिल्ला अदालतबाट मंगलबारबाट लागू हुने गरी ६ दिनको म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । सो घटनामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहसहित अन्य फरार प्रतिवादीहरुको खोजी जारी रहेको पनि उनले जानकारी दिए । प्रवक्ता न्यौपानेका भने, ‘हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको छ ।’
गाउँबाट कलैयातर्फ मोटरसाइकलमा फर्किने क्रममा कुशवाहमाथि आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोलमा सुरेन्द्रसहित मोटरसाइकलमा पछाडि आएका व्यक्तिले जेठ ३२ गते गोली हानी हत्या गरेका थिए ।

गोली लागेलगत्तै क्याम्पस प्रमुख कुशवाहले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेको भन्दै प्रहरी र आफन्तलाई मोबाइलबाट फोन गरेर सुनाएका थिए । प्रहरीले सोही घटनामा प्रयोग गरिएका तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको पनि जनाएको छ ।