• जेष्ठ ७ २०८१, सोमबार

मैले क्रान्तिकारी नेकपा त्यागेको हल्ला निराधार हो : नेता ध्यानबहादुर तामाङ

बैशाख २६ २०८१, बुधबार

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा रामेछापका नेता ध्यानबहादुर तामाङले आफूले सो पार्टी त्यागेको समाचार सही नभएको बताएका छन् ।

केहीदिन अघि सो पार्टीका केही कार्यकर्ताले पार्टीबाट अलग भएको घोषणा गरेका र सोही समूहमा अनावश्यक रुपमा आफ्नो पनि नाम जोडेको भन्दै उनले आज एक विज्ञप्ति जारी गर्दै सो कुराको खण्डन गरेका छन् ।

उनले आफू क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नं प्रदेश संगठन समितिको सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी रामेछापको संयोजकसमेत रहेको जानकारी गराउँदै २०८१ बैशाख २३ गते केही एकता र क्रान्ति विरोधी एवम् फुट परस्तहरुले आफ्नो नाम राखी सामाजिक सञ्चालमा अफवाह मच्चाएको भन्दै घोर आपत्ति जनाएका छन् । साथै उनले यस्तो घृणित कार्य तत्काल बन्द गर्न चेतावनी पनि दिएका छन् ।

विज्ञप्तिमा तामाङले पार्टी एकता र क्रान्तिलाई अगाडि बढाउन नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र नेपालको स्थापना, वैज्ञानिक समाजवाद, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्तिका पक्षमा दृढताका साथ लामबद्ध हुन अनुरोध पनि गरेका छन् ।