• जेष्ठ ७ २०८१, सोमबार

कांग्रेस नेता महरले लगाए सरकार महाकाण्ड तर्फ उन्मुख रहेको आरोप

बैशाख २६ २०८१, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार महाकाण्ड तर्फ उन्मुख रहेको आरोप लगाएका छन् । बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुनअनुसार चल्नुपर्ने बताए ।

तर, वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको उनको आरोप छ । सरकारले गृहमन्त्री रवि लामिछानेसहित विभिन्न अपराधमा संलग्नहरूलाई संरक्षण गर्न थालेको उनको भनाइ छ ।

“गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ,” उनले भने ।

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे ।

कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा, अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने उनले बताए ।