• जेष्ठ ७ २०८१, सोमबार

गृहमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको कांग्रेसको निष्कर्ष

बैशाख २६ २०८१, बुधबार

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई उनीविरुद्ध कुनै उजुरी-जाहेरी, अनुसन्धान र अभियोजन नभएको भनी दिएको पत्रबारे पनि छलफल भएको थियो ।

बैठकमा प्रमुख सचेतक रमेश लेखकले मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतासहितको बैठकमा भएको कुराकानीबारे जानकारी गराएका थिए । उक्त बैठकमा गृहमन्त्री लामिछानेले महान्यायधिवक्ता कार्यालयले दिएको पत्र पेश गरेका थिए ।

जसमा महान्यायाधिवक्ता कार्यालयले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था र कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयमा गृहमन्त्रीविरुद्ध कुनै जाहेरी, अनुसन्धान र अभियोजन नभएको उल्लेख गरेको थियो ।

गृहमन्त्रीले आफू निर्दोष देखाउन राज्यका निकायको दुरुपयोग गरेको ठहर कांग्रेस बैठकले गरेको छ । लामिछानेविरुद्ध किन मुद्दा नचलाएको भनेर जवाफ दिनुपर्ने महान्यायधिवक्ता कार्यालयले गृहमन्त्रीको जिम्मा लिनु आपत्तिजनक भएको महामन्त्री गगन थापाले बताए ।