• जेष्ठ ७ २०८१, सोमबार

राति चोर आयो भनेर खबर गरेकी वृद्धा बिहान मृत फेला

बैशाख २६ २०८१, बुधबार

काठमाडौं । झापामा एक जना वृद्धा मृत फेला परेकी छन् । बुधबार बिहान ६ बजेतिर बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित एक घरमा ६८ वर्षीया विष्णुमाया विष्ट मृत फेला परेकी हुन् ।

उनको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए ।
शंकास्पद देखिएसँगै प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ ।

डिएसपी चन्दका अनुसार उक्त घरमा वृद्धा एक्लै बस्थिन । राति करिब ११ बजेतिर उनले घरमा चोर आएको भनेर गुहार मागेको खुलेको प्रहरीले जनाएको छ । वडाध्यक्ष राहुल शर्माका अनुसार राति चोर आएको भनेर घरमा होहल्ला भएको थियो ।

त्यसपछि छिमेकीहरू उनको घरमा पुगेका थिए । तर चोर भेटिएको थिएन । ‘आमाले चोर आएको भनेर खबर गर्नुभएको रहेछ । खबर गरेपछि छिमेकी घरमा गएर हेर्न जानुभयो । आसपास पनि हेरेका रहेछन्,’ वडाध्यक्ष शर्माले भने, ‘तर भेटिएन । नभेटिएपछि सबै घर गएका थिए ।’

घरमा गएपछि पनि छिमेकीले ती वृद्धालाई करिब राति १२ बजेतिर फोन गरेका थिए । फोन गर्दा वृद्धाले आफूले ढोका लगाएर सुतिसकेको जानकारी दिएको वडाध्यक्ष शर्माले बताए ।

‘ढोका लगाएर सुतिसकेको भन्नुभएको रहेछ । तर बिहान छिमेकी हेर्न जाँदा मृत भेटिनुभयो,’ उनले भने । छिमेकी बिहान करिब ६ बजेतिर वृद्धाको घरमा हेर्न गएका थिए । बिहान छिट्टै उठ्ने वृद्धा नउठेपछि हेर्न जाँदा उनको शव फेला परेको र त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।

अनुसन्धान गर्ने टोलीले घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि धरानस्थित प्रादेशिक अस्पतालमा पठाएको छ । धरानबाटै प्रहरीले तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ ।