• जेष्ठ ७ २०८१, सोमबार

पार्टी फुटेपछि आज उपेन्द्र यादव अदालत जाने,निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै

बैशाख २६ २०८१, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन् । पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले निर्णय गर्ने छ । त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार बैठक लगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । ‘आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ, बैठकपछि पत्रकार सम्मेलनमा राखेका छौँ,’ उनले भने, ‘हामीले आफ्ना कुरा त्यहीबाट राख्छौँ । तर हामी अदालत जाने तयारीमा छौँ ।’ उनका अनुसार बिहान बैठक बस्ने र साढे ११ बजेपछि पत्रकार सम्मेलनबाट धारणा सार्वजनिक गर्ने कार्यक्रम छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा सात जना सांसदहरुले नयाँ पार्टी स्थापना गरेका छन् । उनीहरूको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको निर्णय गरिसकेको छ । तर यादव पक्षले भने संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकिर गर्दै विभाजन षड्यन्त्रपूर्ण तरिकाले गराइएको आरोप लगाएको छ ।