• जेष्ठ ६ २०८१, आईतवार

शरीरमा आएको मुसा कसरी हटाउने ?

बैशाख २४ २०८१, सोमबार

कसैकसैमा लामो समयदेखि मुसाले हात, खुट्टा नै कुरूप बनाएको हुन्छ । मेडिकल भाषामा “वार्ट” भनिने मुसा अरु केहि नभएर छालामा हुने एक किसिमको भाइरसको संक्रमण हो ।

शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ ।

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ ।

कतिपयले पार्लरमा गएर त कतिले घरमै मुसा हटाउने गरेको पाइन्छ । यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्छ ।

स्वस्थ मानिसमा करिव ३० प्रतिशत मुसा ६ महिनामा र ६० प्रतिशत एक वर्षमा आफै हराएर जान्छ । यदि मुसा सानो हुँदै गएमा र रगतका शिराका काला धब्बाहरु देखिएमा यो आफै हराएर जादैछ भनेर बुझ्नुपर्छ ।

अस्वस्थ र रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिसहरु जस्तै, कुनै रगतको क्यान्सर, एड्स आदि रोगहरु लागेको छ र मुसा धेरै मात्रामा छ भने चाहीँ क्यान्सरमा पनि परिणत हुनसक्छ ।

साथै योनाङ्गहरुमा देखिने मुसा पनि क्यान्सरमा परिणत हुने संभावना धेरै हुन्छ । लामो समयसम्म मुसा आफै हराएर नगएमा, बढ्दै गएमा र अन्य ठाउमा पनि फैलिदै गएमा एकपटक छालारोग विशेषज्ञसंग सल्लाह लिनु बुद्दीमानी हुन्छ ।

शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ । मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ । भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।

जन्मिए पछि देखापर्ने मुसाको मुख्य कारण ईन्फेक्सन हो । यि मुसाहरु शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाईरस हो । आकारमा यो गोलो,अण्डाकार, च्याप्टो हुन्छ भने केहि चिल्लो मुलायम र च्येप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिन लाग्दो देखिन्छ, यस्ता मुसाहरु बिषेश गरी हात र खुट्टामा देखिन्छन् ।

यदी शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन । यदी मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसंग सल्लाह गर्नु पर्छ ।