• बैशाख २३ २०८१, आईतवार

विगतको गोडा, वर्तमानको हात र भविष्यको टाउको बोकेर उभिएका सी

चैत्र १७ २०८०, शनिबार

विश्वको भारी जनसंख्या भएको देश चीनका राष्ट्रपति सी जिङ पिङ समकालीन विश्वको सबैभन्दा बढी भार बोकेर उभिएका जनप्रतिनधि हुन् । आधुनिक चीनको इतिहासमा उनी माओत्से तुङपछिका आशा गरिएका चिनियाँ नेता हुन् ।

चीनले हालसम्म गौरवमय मोड पार गर्दै आएको छ । माओत्से तुङपछि माओकै विचार तथा निर्देशनमा देश हिँड्न कठिनाइ भएपछि यसले विभिन्न मोडको सामना गर्नु परेको थियो । यी मोडहरू असाधरण प्रकृतिका थिए र बढी जोखिमपूर्ण पनि !

माओको निधन लगत्तै देशमा कम्युनिष्ट व्यवस्थाको व्यक्त रूपमा विरोध त भएन । तर प्रजातान्त्रिक प्रकृतिका मागहरू सडकबाट उठ्न र गुञ्जन थाले । यी मागहरूलाई दुई आँखाले हेरिए । एउटा चीनले समाधान गर्न नसकेर समस्या उब्जिएपछि जनस्तरमा व्यक्त भएका स्वाभाविक स्वरका रूपमा । दोस्रो, कम्युनिष्ट विरोधी र विदेशी शक्तिले बल दिएर उकासेका स्वरका रूपमा !

सामान्य धरपकडदेखि तियानमिन स्क्वायरको रक्तपातपूर्ण दमनको श्रृङ्खलासम्म यसले डोर्‍यायो । गम्भी पाठ पनि सिकायो चिनियाँ शासकलाई ! बलिदानका एकपछि अर्को धरोहर खडा हुँदै र आन्तरिक तथा बाह्य अन्तरविरोधको सामना गर्दै चीन अघि बढ्यो ।

माओपछि तेङ सियाओपिङले निर्धारण गरेको खुला र सापेक्ष प्रजातान्त्रिक बाटोमा चीन अघि बढेर वर्तमान राष्ट्रपति सी जिन पिङको उदय पूर्वसम्म यात्रा कायम रह्यो ।

त्यसपछि खुला तथा बजार अर्थतन्त्रले अमेरिका लगायत युरोपमा धक्का र प्रतिधक्का खाइरहेको वर्तमान अवस्थामा चीनले भीमकाय अर्थतन्त्र धानिराख्ने अवस्था देखिएन । यो चीनका लागि एक अनिवार्यता थियो । यसले सिङ्गो चिनियाँ अर्थतन्त्रमा गत्यावरोध ल्याएरै छाड्थ्यो । सङ्केत पनि यस्तै थियो ।

यही बेलामा चीनमा राष्ट्रपति सीको उदय भयो । अरू नै आएका भए पनि यो समस्या त जहाँको त्यहीँ थियो । तर यसरी नेतृत्व गर्न सक्ने थिए वा थिएनन् । कल्पना र तर्कका विषय त रहे नै । किन कि नेतृत्व ‘आवश्यकता, क्षमता र संयोग’ आदि तीन कुराको सन्तुलित योग हो ।

चिनियाँ समीक्षामा पनि हालसम्मको बाटो देङले देखाएको बाटो भएको स्वीकार गरिएको छ । अबका दिनमा त्यसले अग्रगामी बाटो तय गर्ने र मार्गनिर्देश गर्नसक्ने अवस्था नभएकाले अर्को एक रणनीतिक विचार र बाटो तय गरिनु जरूरी थियो । यो भार वर्तमान नेतृत्वका हिसाबले स्वाभाविक रूपमा सी जिन पिङको काँधमाथि आइ पुग्यो ।

वर्तमान राष्ट्रपति सी जिन पिङ विगतको खुट्टा, वर्तमानको हात र भविष्यको टाउको लिएर हिँडिरहेका छन् । समाजवादको विचार र नारा, वर्तमान पुँजीवादी प्रतिस्पर्धात्मक अर्थतन्त्रको जगेर्ना र विकास तथा विश्व समाजवाद निर्माणको सपना यही तीन कुराको अभूतपूर्व सन्तुलित अभिव्यक्ति हो । शायद यसले चिनियाँ रणनीति कुशलतापूर्वक अघि बढाउला नै !

अबका दिनमा यस्तो पनि अनुमान गरिँदै छ कि देङ सियाओपिङले कोरिदिएको विचार र मार्गले हालसम्म डोर्‍यायो । अबका दिनमा एक लामै रणनीतिक विचार योजनामा सी जिन पिङले देखाएको बाटोले चीनलाई डोर्‍याउने छ ।

भनिन्छ, सीले निर्माण गरेको बाटो देङको रणनीतिक यात्राको अन्त्य र नयाँ यात्राको सुरूआत हो । अबका केही दशक सी रणनीतिले डोर्‍याउने देखिन्छ । सीको नेतृत्वमा चीनले सन् २०५० सम्मको आफ्नो रणनीतिक लक्ष्य किटानीसहित यात्रा तय गरिसकेको छ ।

जोखिम लिएरै भए पनि आफ्नो देशको महत्वाकाङ्क्षी रणनीतिक योजना संकल्पसहित सीले अघि सारेबाट यो कुरा स्पष्टताका साथ बुझिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक समीक्षामा राष्ट्रपति सीको नेतृत्वकाल ‘गौरव गर्न लायक’ भनी उल्लेख गरिसकेको छ ।

यसका केही छनक वैश्विक रूपमा देखा पनि परिसकेका छन् । उनको कार्यकालमा चीनले आर्थिक तथा कूटनीतिक सफलता हात पारिरहेको छ । तथापि चीनका अगाडी चुनौतीहरू डरलाग्दा नै छन् ।

चिनियाँ सभ्याता सबैभन्दा पुरानो सभ्यता हो । यसको प्राचीन विगत निकै उन्नत र गौरवमय छ । मध्य काल निकै भयाबह र कारूणिक छ । आधुनिक काल आशावादीपूर्ण छ ।