• जेष्ठ ५ २०८३, मंगलवार

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

चैत्र १ २०८०, बिहीबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले खानेपानी मर्मत योजनामा पाँच लाख १५ हजार १०८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, सबइन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा, कोषाध्यक्ष बिरकुल्ली बुढा र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् ।

चंखेली–३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका निम्ति आर्थिक वर्ष २०७४/७५ मा छुट्टाइएको रकम अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । उनीहरूले पाँच लाख १५ हजार १०८ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ