• असार २४ २०८३, बुधबार

दरबारमार्गको क्यासिनोभित्र अनलाइन जुवा खेलाउने तीन भारतीयसहित एक करोड नगद बरामद

माघ १९ २०८०, शुक्रबार

काठमाडौँको दरबारमार्गस्थित एक क्यासिनोभित्र अनलाइन जुवा खेलाइहेको अवस्थामा तीनजना भारतीय पक्राउ गरेका छन् ।

प्रहरीले भारतको पञ्जावस्थित रन्जित एभिन्यु घर भई हाल काठमाडौँमा बस्ने ३२ वर्षीय रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौ घर भएका ५२ वर्षीय गुलाव सिंह र भारतकै दिल्लीस्थित विकासपुरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय गौरव सिंहलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न देशका मुद्राहरूको जम्मा नेपाली मूल्य १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ ७३ पैसा पनि बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालत काठमाडौंबाट शुक्रबार ७ दिनको म्याद थप भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा नेपाली कानुनद्वारा निषेध अवैध अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

जुवा खेलाउन संलग्न भारतीयहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राको वित्तीय कारोवार गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार छापा मारेकाे थियो ।

त्यसक्रममा अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरण, कागजातहरू, ठूलो मात्रामा स्वदेशी तथा विदेशी मुद्रा पनि बरामद भएको छ ।