वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीको संयुक्त टोलीले १०० ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने ३७ वर्षीय अवधेश प्रसाद पटेललाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीलाई आएको विशेष सूचनाका आधारमा चलाइएको छड्के जाँचका क्रममा वीरगन्ज महानगरपालिका १६ स्थित सडक खण्डबाट तीनै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।