• जेष्ठ ६ २०८३, बुधबार

आजको मौसम:अधिकांश तराई भूभागमा हुस्सु,पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

माघ १७ २०८०, बुधबार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय  अपनाउन महाशाखाले अनुरोध गरेको छ ।