काठमाडौं । क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो। अदालतले झनिन्द्र प्रसाद खतिवडाबाहेक रूपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको छ।
रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो।