• जेष्ठ ६ २०८३, बुधबार

अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दिइयो मृत्युदण्ड

माघ १२ २०८०, शुक्रबार

काठमाडौं । अमेरिकामा १ जना अभियुक्तलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्याको घटनामा दोषी ठहर भएका केनेथ युजिन स्मिथलाई अमेरिकाको अलाबामा राज्यले नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिएको हो।

विश्वमै पहिलोपटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो। आफूलाई दिइने मृत्युदण्डको सजाय र त्यसको विधिविरुद्ध ५८ वर्षीय स्मिथले सर्वोच्च अदालतमा २ वटा अन्तिम अपील र संघीय अपील अदालतमा एउटा अपील गरेका थिए। तर अदालतले उनको अपील अस्वीकार गरिदियो।

यसअघि सन् २०२२ मै अलाबामाले घातक सुई (इन्जेक्शन) दिएर स्मिथलाई मृत्युदण्ड दिने प्रयास गरेको थियो। तर त्यतिबेला उनलाई इन्जेक्शन दिने नशा नभेटिएपछि उक्त विधि कार्यान्वय हुन सकेन।

मृत्युदण्ड सूचना केन्द्रले स्मिथ विश्वमै कहीँ पनि शुद्ध नाइट्रोजन ग्यासको उपयोग गरेर मृत्युदण्ड पाउने पहिलो व्यक्ति भएको बताएको छ।

अलाबामा र अन्य २ अमेरिकी राज्यले फाँसीको वैकल्पिक विधिको रुपमा नाइट्रोजन हाइपोक्सियालाई उपयोग गर्ने मञ्जुरी दिएको छ। किनभने परम्परागत रूपमा दिइने घातक सुईहरू अचेल पाउन निकै गाह्रो छ। यसले पनि मृत्युदण्ड कार्यान्वयनका घटना देशैभरि कमि भइरहेको छ।