• जेष्ठ ६ २०८३, बुधबार

बाँदर बन्ध्याकरण तालिम लिन १५ नेपाली भारत जाँदै

माघ १० २०८०, बुधबार

काठमाडौं । बाँदरको बन्ध्याकरणसम्बन्धी तालिममा सहभागी हुन नेपाली प्राविधिक टोली भारत जाने भएका छन् । पछिल्लो समयमा बाँदर गाउँघरमा प्रवेश गरी किसानले गरेको खेतीपाती नष्ट गर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्न बाध्य भएका छन्।

बाँदरले खेतको खाद्यान्नवाली र फलफूल खेती क्षति गर्न थालेपछि बाँदरको संख्या नै नियन्त्रण गर्न संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सहकार्यमा नेपाली प्राविधिकहरुको टोली भारत जान लागेका हुन् ।

कृषि समितिका उपसचिव शिवदत्त बरालकाअनुसार पहिलो चरणमा १० जना पशु चिकित्सक र ५ जना रेञ्जरलाई तालिमको लागि भारतको हिमाञ्चल प्रदेश पठाउने तयारी गरिएको छ ।

‘काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा १५ जना नेपाली प्राविधिक टोलीलाई १० दिने तालिमको लागि हिमाञ्चल प्रदेश पठाउने तयारी पुरा भएको छ,’ उपसचिव बरालले भने, ‘आवश्यक कागजात तयार गरी उहाँहरु केहि दिनमा उता प्रस्थान गर्नुहुनेछ ।’ यो टोली जनवरीको अन्तिम साता वा फेब्रुअरीको पहिलो साता भारत प्रस्थान गर्नेछन् ।

तालिम लिएर यो टोली फर्केपछि स्थलगत भ्रमणको लागि फेरि कृषि समितिको सांसदहरु हिमाञ्चल जाने तयारी पनि भएको छ । यसका लागि १८ जना साँसदहरुले अहिलेसम्म नाम टिपाएका छन् ।