काठमाडौं । व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
यसअघि ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा दर्ता भएको हो ।
उनीहरू विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
पोद्दारले अर्का व्यवसायी रुपेश श्रेष्ठसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
यस प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।
फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् ।
यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि मुछिएका पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ ।