• जेष्ठ ६ २०८३, बुधबार

५ किलोमिटर सडकको काम ३ वर्षमा आधा मात्र

माघ ५ २०८०, शुक्रबार

रुपन्देही । काम सुरु भएको तीन वर्ष बितेको छ । प्रदेश सरकारको योजनाअन्तर्गत बेल्बास–बेथरी–मर्चवार खण्डमा पाँच किमी सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

‘कनेक्टिभिटी’ सुधार गर्न र मर्चवारको विकासलाई प्रोत्साहन गर्ने महत्वाकांक्षी परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्याएका छन् । विसं २०७७ कात्तिक १६ गते लुम्बिनी–अर्घाखाँची बाबुल जेभी रुपन्देहीको नाममा टेन्डर स्वीकृत भएको हो । तर प्रतिज्ञा गरिएको पाँच किलोमिटर सडक अधुरै छ । निर्माण कम्पनीले सडकका रूख हटाउनुअघि नेपाल सरकारबाट कानुनी निर्देशन पर्खन बाध्य भएकाले निर्माण सम्पन्न हुन नसकेको बताइएको छ ।

निर्माणाधीन सडकको अवस्थाले भैरहवासम्मको यात्रामा सामान्यतया २० मिनेटबाट एक घण्टा बढी समय लम्ब्याएको छ । यसले स्थानीयको दैनिक जीवनमा बाधा पुर्‍याउने मात्र नभई समग्र क्षेत्रको विकासमा अवरोध गरेको छ । निर्माणले समग्र क्षेत्रको विकासमा असर गर्दै असुविधा फैलाएको स्थानीय राकेश चौधरीको भनाइ छ । उनले भने, “निर्माणाधीन धुलाम्मे सडकबिचमा रहेका रुखले जोखिम बढाएको छ ।”

सम्मरीमाई गाउँपालिका–७ का वडाध्यक्ष राधेश्याम कुर्मीले सडकभर छरिएर रहेका रुख नहटाइकन भइरहेको कमसल निर्माणका कारण उत्पन्न समस्याबारे चिन्ता व्यक्त गर्दै जोखिम बढेको टिप्पणी गरे । मर्चवार नहरको दुवैतर्फ सडक विस्तार गरी बेथरीमा जोड्ने सरकारी योजना छ । जिल्ला सदरमुकाम भैरहवा कनेक्टिभिटीका लागि यसअघिको साँघुरो सडकले मर्चवारलाई भैरहवा–लुम्बिनी सडकसँग वनगाइमा जोडेको छ ।

निर्माणाधीन सडकको जग्गा नेपाल सरकारको स्वामित्वमा छ । रुख मर्चवार सामुदायिक वनका हुन भने प्रदेश सरकारको योजनाले जटिलता थपेको मर्चवार सामुदायिक वनका सचिव जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । सडक पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर हितेन्द्र माझीले ५० प्रतिशत मात्र काम सम्पन्न भएको जनाउँदै सडकमा रहेका रुखको कटानी आदेश सम्बन्धित निकायबाट पाउन नसक्दा अवरोध पुगेको बताए । रासस