• जेष्ठ ६ २०८३, बुधबार

ललिता निवास जग्गा प्रकरणः आरोपित पक्षबाट बहस सुरु

माघ ४ २०८०, बिहीबार

काठमाडौैं । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा तेस्रो दिनको बहस सुरु भएको छ।

न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। मंगलबार र बुधबार सरकारी पक्षले बहस गरेका थिए। बुधबार अबेर आरोपितका कानुन व्यवसायीले बहस सुरु गरेको र बिहीबार दिनभर उनीहरुकै बहस हुने विशेष अदालतले जनाएको छ।

बुधबार बहस जारी भएपछि मुद्दा बिहीबारलाई हेर्दा हेर्दै राखिएको थियो। आरोपितका पक्षमा धेरै कानुन व्यवसायी भएकाले इजलासले समय निर्धारण गरेर बहस गर्ने प्रस्ताव राखेको छ भने कानुन व्यवसायीहरुले सबै प्रतिवादीको कुरा सुनिनुपर्ने भएकाले बहसका लागि समय कडाइ गर्न नहुने माग गरेका छन्।

अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको भन्दै २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो।