काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आगामी शुक्रबारबाट सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुँदैछ ।
अपराह्न ४ बजे परिषद्को बैठक बस्नेछ । परिषद् सचिवालय स्रोतका अनुसार, प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाइएको हो । संवैधानिक व्यवस्था अनुसार, १९ असारमा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बोलाउन ढिलाइ भएको हो ।
न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष पूरा भएका न्यायाधीशहरुको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको छ संविधानमा सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ ।
सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको सूची पुगेको छ ।