चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।
धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।
धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उनले स्वीकार गरिन् । यिनै गुनासा चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उनको हिँडाइसँगै भेटघाट सुरु हुन्छ । टोलटोलमा उनी बिहानी हिँडाइ (मर्निङ वाक) गर्छिन् । स्थानीयसँग भेट गर्छिन् ।
गुनासा एवं सुझाव सुन्छिन् र चालु आयोजनाको अनुगमन गर्छिन् । कतिपय स्थानीय दाहालसँगै हिड्ने गर्छन् । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा दाहाल पुगिसकेकी छिन् । क्रमशः सबै वडामा पुग्ने उनको योजना छ ।
नियमित बिहानीको हिँडाइसँगै रहने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उनले जानकारी दिए । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ ।
भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिने गरेकी छिन्। दाहालले भने, “भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।” नगरवासीका गुनासा सुन्न, सुझाव लिन, उहाँहरुसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको छ।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । त्यसो त दाहाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि छिन् । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि दाहाललाई भेट्न आउने गरेका छन् ।
दाहालको आफ्नो दैनिकी निकै व्यस्थतामा बित्ने गर्दछ । बिहान उठेदेखि राती सुत्ने बेलासम्म उहाँ नगरवासीकै काममा व्यस्त हुने गर्छिन् । उनले भनिन्, “जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु ।” बिहान ब्युझिँदै गर्दा बज्ने फोनका घण्टी निदाउनु अघिसम्म बजिरहन्छन् । यो व्यस्तताका बावजुत नगरवासीलाई घरघरमा नै भेट्ने पछिल्लो दैनिकी उनको बनेको छ । बिहान ५ देखि ८ बजेसम्मको समय उनले यस्तै कार्यका लागि छुट्याउँदै आएकी छिन्। रासस