• जेष्ठ १० २०८३, आईतवार

पूर्णिमाले गरिन् विश्वकै दोस्रो अग्लो माउन्ट के-टुको सफल आरोहण

श्रावण ११ २०८०, बिहीबार

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ विश्वकै दोस्रो ठूलो हिमाल माउन्ट के-टुको सफल आरोहण गर्न सफल भएकी छिन् । ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी आरोही एवम् फोटो पत्रकार श्रेष्ठले बिहीबार मध्यान्ह पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी हुन्।

८६११ मिटर अग्लो माउन्ट के-टुको सफल आरोहणपछि उनी अहिले बेसक्याम्पतर्फ फिर्ता भइरहेकी छन्। पूर्णिमाले आफ्नो सफल आरोहणका लागि सहयोगी र शुभेच्छुकलाई धन्यवाद पनि दिएकी छन्। पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्। यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन्।

उनी इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु चढ्न पुगेकी थिइन्। के–टु आरोहणका लागि जोखिमयुक्त भएकाले किलर माउन्टेनको उपमा दिइएको छ।