• बैशाख २२ २०८३, मंगलवार

कांग्रेस बैठकमा प्रदीप पौडेलको प्रस्ताव: गणतन्त्रपछिका सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरौँ

श्रावण ५ २०८०, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २०६२/६३ को आन्दोलनपछिको गणतन्त्रयताका सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन्।

चार दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार आफ्ना भनाइ राख्ने क्रममा प्रतिनिधिसभाका सांसद समेत रहेका पौडेलले कांग्रेस अब द्विविधामा बाँच्न नहुने पनि बताए।

‘कांग्रेस भ्रष्टाचारविरुद्ध कठोर हुनैपर्छ। यो भावनाको विषय होइन नैतिक प्रश्न पनि हो’, उनले भने, ‘अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छ।’ पौडेलले गणतन्त्र प्राप्तिपछिका सबैजसो भ्रष्टाचारको छानबिन हुनुपर्ने कुरा पनि बैठकमा राखेका छन्।

‘गणतन्त्र प्राप्तिपछिका जति पनि भ्रष्टाचार छन्, ती सबैको छानबिन गरौँ’, उनले भने, ‘गणतन्त्रयताका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने गरी कांग्रेस अघि जाओस्।’