• बैशाख २४ २०८३, बिहीबार

संसदमा स्पष्टीकरण दिदैँ प्रचण्डले भने- प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपर्थ्यो, ज्ञानुको बुवा भएर बोल्न पुगें।’

असार २५ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीको हैसियतामा उक्त कुरा बोल्न नहुने बताएका छन्। आफू भावुक भएर बोलेको बताउँदै उनले प्रतिनिधि सभामा गल्ती महसुस गरेका छन्। उनले स्पष्टीकरण दिए, ‘प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपर्थ्यो, ज्ञानुको बुवा भएर बोल्न पुगें।’

यातायात व्यवसायी प्रितम सिंहसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै प्रचण्डले २०६८/०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सर भएपछि दिल्ली पुगेका बेला भएको संवाद आफूले स्मरण गरेको बताए।

उनले आफू भावुक भएर बोलेको बताउँदै थपे, ‘सामाजिक सेवा र यातायात मात्रै होइन, राजनीतिमा समेत रुचि राख्नुहुन्छ भनें। त्यही बेलाको कुरा सम्झें। प्रितमजीले भनेको पनि सम्झें। म भावनात्मक छु नै। यही प्रचण्ड भयो, गर्नुहुन्छ के?’

आफ्नो छोरी ज्ञानु अन्तिम अवस्थामा पुगेको समयमा भेट्न जाँदा प्रितमको दिल्लीस्थित फ्ल्याटमा भएको उक्त संवाद सम्झिए। उनले त्यो समयलाई स्मरण गरे, ‘म छोरी भेट्न जाँदा प्रितम सिंह र उहाँका आफन्त त्यहीँ हुनुहुन्थ्यो। त्यही बेला नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भन्नुभयो। उहाँले भावनामा आएर मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु र नेपालमा पार्टीहरुसँग कुरा गर्ने गरेको छु भन्नुभयो। मैले धन्यवाद भनें। यो मेरो कुरा पनि थिएन। पारिवारिक वातावरणमा उठाएको कुरामा सदासयताका लागि धन्यवाद भनें।’

उनले प्रितम सिंह त्यस्तो शक्तिकेन्द्र नभएको स्पष्ट पारे। त्यो भावना मात्रै रहेको पनि बताए। आफूले भावुक भएर बोलेको बताउँदै आत्मालोचना गरेका छन्। आगामी दिनमा आफू त्यसरी भावुक नहुने कोसिस गर्ने पनि उल्लेख गरे।