• जेष्ठ १० २०८३, आईतवार

अझै पनि ठोस कदम नचाले अरु सारुक र मनिकाहरुलाई बचाउन सक्ने छैनौं : गगन थापा

असार २३ २०८०, शनिबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले मानिसक स्वास्थ्यका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आत्महत्याका घटना बढेको बताउँदै यस विषयमा ठोस कदम नचाले भविष्यमा धेरै जनालाई गुमाउनुपर्ने बताए ।

‘अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मनिका र सारूकहरूलाई गुमाउने छौं । हामीले त्यो अवस्था कदापि आउन दिनुहुन्न । यसमा तपाईं हामी सबैको भूमिका रहन्छ,’ उनले लेखेका छन् । शुक्रबार मात्रै अभिनेता सारूक ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए ।

उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। त्यसैगरी टिकटकमार्फत् चर्चामा आएकी मनिका ठकुरीले पनि केही समय अघि आत्महत्या गरेकी थिइन् । सारूकको मृत्युपछि चर्चित डान्सर सुशान्त खत्रीले पनि सामाजिक सञ्जालमार्फत् आफू डिप्रेशनमा रहेको संकेत गरेका छन् । यी घटनाले आफूलाई अत्यास लागेको पनि थापाले बताएका छन् । यस्ता घटनालाई न्यूनीकरण गर्न कहाँ चुक्यौं भनेर पनि उनले प्रश्न गरेका छन् ।

‘आखिर हामी कहाँ चुक्यौं ? हाम्रो समाज कहाँ चुक्यो ? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको संख्या बढिरहेको छ ? हामीले यतिका वर्ष देखि कसका लागि संघर्ष गर्यौं ?,’ उनले भनेका छन्, ‘हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडिरहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ?’
उनले मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँचमा पुग्ने गरी संयन्त्र निर्माण गर्न पनि प्रस्ताव राखेका छन् ।

‘हामी चाँडै नै काठमाडौं महानगर वडा नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू विस्तार गर्नेछौं । तपाईंले यहाँबाट पनि निःशुल्क सेवा लिन सक्नु हुनेछ,’ उनले भनेका छन् ।
‘हामीले यस सम्बन्धी पहल कानुनी रूपमा नै गर्नुपर्छ । हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौं भने हामीले गरेको संघर्षको, हाम्रो राजनीतिको के अर्थ ?,’ थापाले प्रश्न गरेका छन् ।