• बैशाख २४ २०८३, बिहीबार

६ लाखभन्दा धेरै परिवारलाई गरिब परिचयपत्र वितरण

असार २० २०८०, बुधबार

काठमाण्डौ। सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।

सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्था लगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ ।

वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिए ।

सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ ।

२०७० सालमा गरिब पहिचानको कार्यक्रम शुरु गरिएकोमा शुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो ।
बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण गरिने छ ।पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म झण्डै एक अर्ब ५३ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।