काठमाडौं । काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । मेयर बालेन साह (बालेन्द्र)ले चालु आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १ सय २५ बुँदामा कार्यनीति पेश गरेका हुन् ।
‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समेटिएको उनको भनाइ छ । ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्मनिर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्डाखुल्डीरहित बनाउने, कम्तीमा १ लाख बिरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएको मेयर साहले बताए ।
वानस्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्रान्डिङ गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन् ।
सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तर्राष्ट्रिय सम्बन्ध, विपद् व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवद्र्धन आयोजना, सहरी योजना आयोगसम्बन्धी कार्यनीति पेश भएका थिए ।
‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी, ‘धुलोरहित काठमाडौं, ‘सुन्दर महानगर, ‘उज्यालो सहर, मेरो महानगर यस वर्षको कार्यनीतिमा समेटिएका छन् ।
यस्तै, ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन, ‘न्याय चौतारी, ‘एग्रोपुलिङ, ‘साथी महानगर, ‘एक टोल, एक खेलकुद पूर्वाधार, ‘डुबान समाधान, ‘सुशासनका लागि अनलाइन सेवा, ‘महानगरले देख्छ, ‘मेरो रहर, हरित सहर, ‘मिसन २१०० कार्य नीति छन् ।
बैठकमा नगर सभाका १७ सदस्यले विभिन्न धारणा राखेका थिए । धारणा राख्नेहरूमा नवराज पराजुली, न्हुच्छेकाजी महर्जन, विमल होडा, गायत्री पुडासैनी, भगवान बुढाथोकी, शारदा सुवेदी, कल्पना सुन्दास, हर्कबहादुर खाती, आशा श्रेष्ठ रौनियार, श्रीराम राई, टेकराज अधिकारी, सन्तोष ढुङ्गेल, सरु अधिकारी, सन्ध्या खनाल, रत्नाकर बज्राचार्य, रसला तण्डुकार र शर्मीला परियार थिए ।
उनीहरूले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरावलोकन गर्नुपर्ने, बर्षौंदेखि करार सेवामा रहेका कर्मचारीलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नुपर्ने, सूचना प्रविधिमा आधारित सेवालाई दिगो सञ्चालनमा ल्याउनुपर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनुपर्ने, धूम्रपान तथा सुर्तीजन्य वस्तुको बेचबिखनलाई कानुनबमोजिम रोक लगाउनुपर्ने जस्ता विषयलाई नीति र कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
स्थानीय तहलाई प्राप्त बहाल करको अधिकार प्राप्त गर्ने, दलित लक्षित कार्यक्रमका लागि दलित सदस्यलाई जिम्मेवारी दिने, ढल निकासको शुल्क उठाउने तर ढल निकासको काम नगर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको सम्बन्धका विषयमा स्पष्ट धारणा हुनुपर्ने, बस्तीका बीचमा पुगेका अन्तिम संस्कार स्थलहरूको व्यवस्थापन गर्नुपर्ने लगाएका विषयमा सुझाव आएको थियो ।