• जेष्ठ ११ २०८३, सोमबार

एक नेताको गोली हानी हत्या, कांग्रेसका उम्मेदवार पक्राउ

असार ९ २०८०, शनिबार

काठमाडौं । भारतको पश्चिम बंगालमा पञ्चायत चुनावको मिति घोषणा भएपछि दलहरूबीचको द्वन्द्वले हिंसाको रूप लिएको छ ।

पुरुलिया जिल्लामा, तृणमूल कांग्रेसका आद्रा शहर अध्यक्ष धनंजय चौबेको पार्टी कार्यालयमै गोली हानी हत्या भएको छ ।

बिहीबार राति भएको उक्त घटनामा चौबेका अंगरक्षक घाइते भएका छन् ।

बिहीबार राति करिब ८ः३० बजे चौबे आफ्ना सहकर्मीसँग पार्टी कार्यालयमा बसिरहेका थिए । त्यहीबेला मोटरसाइकलमा आएका तीनजनाले उनलाई नजिकबाट गोली हानेर भागेका थिए ।

चौबेलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो, जहाँ चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरे । उनका अंगरक्षक शेखर

दासको उपचार भइरहेको बताइएको छ ।
हत्यामा संलग्न पञ्चायत चुनावका स्थानीय कांग्रेस उम्मेदवारसहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

चुनावमा उम्मेदवार उठेका अरशद हुसेन र अर्का उनका सहयोगी एनडी जमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न तेस्रो व्यक्ति अझै फरार छन् ।