काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो ।
उनीसमेतका कर्मचारीहरूले तीन करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको दाबीसहित विभिन्न मितिमा पाँचवटा मुद्दा दायर भएकोमा विशेष अदालतले सोमबार एउटा मुद्दामा सफाइ र बाँकी मुद्दामा कसुर कायम तथा आंशिक ठहरको फैसला गरेको छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार गुप्तासमेत पाँचजनाउपर दायर मुद्दामा आंशिक ठहर हुने फैसला भएको हो । अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै १ जेठ ०७६ मा पहिलोपटक दायर मुद्दामा उनीसमेत तीनजना दोषी ठहर भएका छन् । मालपोतका लेखापाल युगलकिशोर ठाकुर र नायव सुब्बा शत्रुधन राउतलाई विशेषले सफाइ दिएको छ । उनीहरूले भ्रष्टाचारजन्य कार्यमा मदनलाई सहयोग गरेको निष्कर्ष अख्तियारको थियो।
विशेषले नासु गुप्तालाई नौ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । यसै मुद्दामा नीरज गुप्ता र सुनील पटेललाई समेत मतियार कायम गर्दै विशेषले बराबर सजाय सुनाएको प्रवक्ता योगीले बताए । नीरज र पटेललाई जनही साढे चार–चार महिना कैद तथा साढे १२–१२ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।
आर्थिक वर्ष ०७४÷७५ मा रजिस्ट्रेसन फाँट नम्बर ३ मा कार्यरत मदनले आफू कार्यरत अवधिमा बुझेका राजस्व रसिद, पारित गरेका सक्कलै लिखत तथा सोसँग सम्बन्धित अन्य कागजात, लिखत दर्ता किताब, राजस्व रसिदसमेतका विभिन्न कागजात सम्बन्धित कार्यालयमा नबुझाएको भेटिएको थियो । ती कागज उनले आफ्ना सवारीचालक सुनीलकुमार पटेलको डेरामा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो । ‘महत्वपूर्ण कागजातहरू आफूसमेतको मिलेमतो र प्रत्यक्ष संलग्नतामा सरुवा भएर अन्यत्र कार्यालयमा जाँदासमेत कानूनबमोजिम बरबुझारथ नगरी बदनियतपूर्वक आफ्नो फाँटमा भएका अनियमितता लुकाउने मनसायले आफूसँगै लाने र नष्ट गर्ने मनसाय राखी अनधिकृत रूपमा लुकाउने कार्य गरेको देखिएको’ भन्दै अख्तियारले उनीसहित पाँचैजनालाई प्रतिवादी कायम गरी मुद्दा चलाएको थियो ।
सोही मितिमा मदनसहित ६ जनाउपर राजस्व रकम हिनामिना गरेको अर्को अभियोग पनि दायर भएको थियो । विशेषमा दायर उक्त मुद्दामा पनि अभियोग दाबी ठहर भएको छ । त्यस्तै कमल खतिवडा, प्रवीण गौतम र अजयकुमार सापकोटासमेत लाई भ्रष्टाचार मुद्दामा सजाय सुनाइएको छ । तीनैजनालाई जनही तीन–तीन महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना भराउने फैसलामा उल्लेख छ । खतिवडा र गौतम कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका लेखापाल हुन् भने सापकोटा महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक हुन् । उनीहरूले मालपोत कार्यालय कलैयाको आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गर्दा कार्यालयमा रहनुपर्ने सक्कली कागजात नै लुकाएको तथ्यलाई बेवास्ता गरी भए गरेका तथ्यहरू लोप गरी लेखापरीक्षणका आधारभूत सिद्धान्तविपरीत बदनियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको आरोप अख्तियारले लगाएको थियो।
‘तीनजनाको हकमा तीन वर्षभन्दा कम सजाय भएकाले सजाय सुनाइएको हो । बाँकी तीनजनाका लागि भने १३ जेठसम्म सजाय निर्धारणका लागि प्रतिवेदन पेस गर्ने र १४ जेठमा पेसी तोकेर सजाय निर्धारण गरिनेछ,’ विशेष अदालतका प्रवक्ता योगीले भने । यो मुद्दाका अन्य तीन प्रतिवादीलाई तीन वर्षभन्दा बढी सजाय हुने भएको छ । जसमा फाँटवाला नासु गुप्ताका साथै लेखापाल युगलकिशोर ठाकुर र मालपोत कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी छन् ।
गुप्ताले २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेको भेटिएको थियो । साथै, नक्कली रसिदसमेत उनले प्रयोग गर्ने गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । अख्तियारका अनुसार गुप्ताले नक्कली रसिदबाट एक करोड ३५ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए । जसमध्ये दुई करोड ५० लाख ८६ हजारभन्दा बढी रकम हिनामिना गरेको भेटिएको थियो ।
३ जेठ ०७६ मा अख्तियारले दर्ता गरेको राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिने आदेश भएको छ । तत्कालीन कार्यालय प्रमुख नासु मदनप्रसाद गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतले भ्रष्टाचार गरेको भनी दायर अभियोगदाबी रहेकोमा तीनैजनालाई सफाइ दिइएको हो ।