काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन गरिएको छ ।
आज (मंगलबार) जिल्ला अदालत काठमाडौं परिसरमा प्रदर्शनकारीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
बृहत् नागरिक आन्दोलनको प्रदर्शनमा चलाउने पनि सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई जवरजस्ती भ्यानमा कोचेको प्रहरीले नियन्त्रणमा लिएको छ । उपप्राध्यापक प्रेम चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि हाताभित्रै आक्रमण भएको थियो ।
उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन शुरू गरेका छन् ।