काठमाडौं । काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।
काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो ।
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।
काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए ।
महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ । रासस