काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको ३२ जेठमा अन्तिम सुनुवाइ हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेठमा कार्कीविरुद्ध १० दिन समय तोकेर उजुरी आह्वान गरेको थियो ।
उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ । संसदीय सुनुवाइ समितिले कार्कीलाई बहुमतले अनुमोदन गरे कार्की प्रधानन्यायाधीश बन्नेछन् । प्रधानन्यायाधीशमा प्रस्तावित कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।