• बैशाख २४ २०८३, बिहीबार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहितको टोली आज राती चीन भ्रमण जाँदै

जेष्ठ २७ २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना आज राति चीन प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति १२.५ बजेको चाइना साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओहुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।

उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथाराष्ट्रियसभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा बेइजिङमा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साइयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र लगायतका स्थलहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।