काठमाडौं । बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन ।
यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए ।
“विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”, उनले भने, “तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।”
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौँ दीक्षान्त समारोह रहेको उनले बताए । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो ।
विसं २०५७ पछि २०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो । यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ ।