काठमाडौँ । उपसभामुख इन्दिरा रानाले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रमुख प्रतिपक्षी एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराएकी हुन् ।
आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।
एमाले प्रमुख सचेतक पदम गिरीले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानालाई आज इलाममा आक्रमण गर्ने प्रयास भएको बताउँदै घटनाको यथार्थ विवरणका बारेमा गृहमन्त्रीले संसदमा जानकारी नगराए भोलिदेखि संसद चल्न नदिने बताए ।
साथै उदयपुरमा पनि कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि पनि आक्रमणको प्रयास भएको उनको दाबी छ ।