• बैशाख २६ २०८३, शनिबार

कार्यकारिणी समितिमा ७० वर्षे उमेर हद हटाएपछि वामदेव एमालेमा फर्कंदै

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहेका बामदेव गौतमले एमालेमा आउन तयार रहेको बताएका छन् ।

एमालेले कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हदको बाधा फुकाएपछि राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम उत्साहित देखिएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग तीन पटक भेटवार्ता भएर एमालेमा आउन तयार रहेको बताएका गौतम नेतृत्वले पहल गरे आफू फर्कने बताएका हुन् ।

‘मैले औपचारिकरूपमा थाहा पाउनु परेन ?,’ गत जेठ १९ गते एमाले सचिवालय बैठकले उमेर हद निलम्बन गरेको विषय प्रष्ट्याउँदै उनले बुधबार भने, ‘अहिलेसम्म जम्मा मुकुन्द न्यौपानेलाई ल्याउनका लागि गरिएको छ ।’

उनले यसबारे एमाले अध्यक्ष ओलीले फोनबाट जानकारी गराएर पार्टीमा आउन भने पनि आफू फर्कन इच्छुक रहेको संकेत गरे ।

‘निलम्बन भनेको के हो ? केही समयका निम्ति काम गर्न नदिने होइन ? यो निलम्बन आगामी ६ महिनासम्म, पार्टीको एघारौँ महाधिवेशनसम्मको निम्ति मात्र हुन पनि सक्छ । निलम्बन सम्बन्धी निर्णय गरेपछि वरिष्ठ नेताहरू आउनुभयो, तपाईंलाई लैजानेबारे अध्यक्षले निर्णय गर्नुहुन्छ भन्नुभयो । अध्यक्षले फोनबाट बोलाए पनि त भयो नि ?,’ उनले भने ।

बुधबार संघीय संसदको दुवै सदनको बैठक सकिएपछि सूर्य थापा, सूर्य ढकाललगायत एमाले सांसदहरूले घेरेर बामदेवलाई पार्टीमा फर्कन आग्रह गरेका थिए । पार्टी नेतृत्वले आधिकारिकरूपमा बोलावट नगरेको बताउँदै उनले भने, ‘जानुस् केपी ओलीलाई गएर भन्नुस्, उहाँ आउन तयार हुनुहुन्छ ।’

उनले ओलीसँग भेट हुँदा पार्टीमा उमेर हद हटाउने प्रसंग उठेको बताए । ‘पार्टीमा ७० वर्ष कटेका साथीहरूले उमेर हद हटाउनुपर्छ भनिराख्नु भएको छ । अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, केशव बडालले पनि भन्दै हुनुहुन्छ भनेर उहाँले भन्नुभएको थियो,’ सांसद गौतमले भने, ‘मुकुन्द न्यौपानेलाई लैजान हटाउनु भयो, मलाई लैजान त हटाउनु भएन ।’