• बैशाख २६ २०८३, शनिबार

एमाले नेता मणि थापा विप्लव नेकपामा प्रवेश गर्ने तयारीमा

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । एमाले नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टीमा पत्र लेखेर विदामा बसेका थापाले नेकपामा प्रवेश गर्न छलफल सुरु गरेका हुन् । एमाले स्थायी समिति सदस्य समेत रहेका थापा आफ्ना पुराना सहकर्मी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने योजनामा रहेको बताइएको छ ।

थापा केही समयअघि कम्युनिस्ट विचार बोक्ने कलाकर्मीहरूले आयोजना गरेको राष्ट्रका लागि सङ्गीत अभियानमा सहभागी देशभर घुमेका थिए । त्यो अवधिमा उनी एमालेका बैठकमा सहभागी नभई पूर्णरूपमा निष्क्रिय भई बसेर सांस्कृतिक कार्यक्रममा मात्रै सहभागी भएका थिए ।

सांस्कृतिक कार्यक्रम सकिएपछि उनले पार्टीलाई पत्र लेखेर बिदामा बसेको जानकारी गराएका थिए । त्यसपछि थापालाई पार्टीले कुनै जिम्मेवारी नदिई स्थायी समितिमा मात्रै राखेको छ । ‘हाम्रो पार्टीमा प्रवेश गर्न जिएसले छलफल गरी रहनुभएको छ । उहाँ (मणि थापा) पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ’ विप्लव नेतृत्वको नेकपा एक नेताले भने, ‘कुन जिम्मेवारी दिने र कहिले प्रवेश गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।’

थापा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका थिए । जनयुद्धमा साँस्कृतिक मोर्चामा सक्रिय भई लागेका थापाले २०६२ सालको चुनवाङ बैठकपछि अलग भई आफ्नै नेतृत्वमा पार्टी निर्माण गरेका थिए । २०७३ सालमा दश माओवादी घटक एकता हुने क्रममा उनी एकता प्रक्रियामा जोडिएका थिए ।

दश माओवादी घटकबीच एकतापछि बनेको माओवादी केन्द्रमा थापा स्थायी समितिको जिम्मेवारीमा थिए । तत्कालीन एमाले माओवादी एकतापछि उनलाई स्थायी समितिको जिम्मेवारी दिइएको थियो । एमाले माओवादी ब्युँतिएपछि थापाले माओवादी छोडेर एमाले रोजेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गैरसांसदको रूपमा खानेपानी मन्त्री बनाएपछि थापाले माओवादी छोडेका थिए । एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनलाई स्थायी समिति सदस्यको जिम्मेवारी दिइएको थियो । एमालेमा चित्त बुझ्दो अवसर नपाएपछि थापा पछिलल्लो समय असन्तुष्ट थिए । पछिल्लो समय उनी विप्लव नेतृत्वको नेकपा रोज्ने अवस्थामा पुगेका छन् ।