• जेष्ठ ११ २०८३, सोमबार

पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा,तराईमा तातो हावा’लू’

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण सो भू-भागहरूमा तातो हावा’लू’ चलिरहेकोले अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।