काठमाडौं । गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा गाँजा खेती र स्थानीय मदिराको ब्राण्डिङ गर्ने घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारले राजस्व बढाउन गाँजा खेतीलाई प्रोत्साहन गर्ने तथा घरेल मदिराको ब्राण्डिङ गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।
प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाँजा खेती, स्थानीय कृषि उत्पादन, मदिराको ब्राण्डिङ र पर्यटन प्रदवद्र्धनका लागि धर्म गुरुहरुलाई निमन्त्रण दिनेलगायतका विषयहरु समेटिएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा बाचन गर्नुभएको कार्यक्रममा आगामी वर्षको बजेटको आकार भने घटाउने संकेत गरिएको छ । “औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने” नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै स्थानीय उत्पादनहरु भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च हिमाली भेगमा उत्पादन हुने आलु, उवा, काउनो, कोदो, फापर, जौलगायतका उत्पादहरूको ब्रान्डिङ गर्ने पनि घोषणा गरिएको छ । त्यसैगरी केन्द्र सरकारको अधिनमा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने पनि कार्यक्रममा उल्लेख छ ।