• बैशाख २६ २०८३, शनिबार

झलनाथ खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । मंगलबार आयोजित एक कार्यक्रममा आफ्ना पार्टीका ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि दुर्व्यवहार भएको भन्दै नेकपा एकीकृत समाजवादीले कारबाहीको माग गरेको छ।

‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ’, सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस् भन्ने माग पनि गरिएको छ। भारतीय संसद् भवनमा राखिएको नक्साबारे विमर्श गर्न मंगलबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा खनालविरुद्ध नाराबाजी गरेका थिए।