काठमाडौं । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् ।
होटलमा प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुसार भारत भ्रमण टोलीमा पाँच मन्त्री भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल तथा प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहाललगायत सहभागी हुनेछन् ।