• जेष्ठ १३ २०८३, बुधबार

२०५औं मार्क्स दिवसमा मार्क्सका योगदानहरुको दाङमा स्मरण गरियो

बैशाख २२ २०८०, शुक्रबार

घोराही । मार्क्सको २०५औं जन्म दिवसको आयोजनामा  मार्क्सवादी ज्ञानशाला दाङले एक कायक्रमको आयोजना गरी  मार्क्सको जीवन, कर्म र योगदानहारुको स्मरण गरेको छ ।

ज्ञानशालाका अध्यक्ष बुद्धिप्रकाश धितालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले  मार्क्सका विभिन्न आयामहरुबारे आफ्ना बुझाईहरु राख्नुभएको थियो ।

पुष्पलाल ज्ञानशाला काठमाडौंका सदस्य विपिन धितालले  मार्क्सले अवैज्ञानिक र आदर्शवादी जगमा उभिएको भौतिकवादलाई क्रान्तिकारी भौतिकवादमा बदलेर जीवन र जगतसम्बन्धि सही दर्शनको विकास गरेको बताउनुभयो ।

साथै वाम बुद्धिजीवी सुशील गौतमले नेपालमा जन्मिएका दार्शनिक गौतम बुद्ध होउन् या जर्मनीमा जन्मिएका कार्ल

मार्क्स, दुबै दार्शनिक विकासको यात्रा प्रश्नबाट भएको थियो, तर नेपालको  मार्क्सवादी आन्दोलनमा प्रश्नलाई बर्जित गरिएको र  मार्क्सवादलाई धर्मशास्त्रको रुपमा बुझ्ने समस्या विद्यमान रहेको कुरा राख्नुभयो, उहाँले जतिसुकै सडेको भएपनि पूँजीवादले आफ्नो शोषणकारी चेहरालाई नयाँ-नयाँ रुप रंगमा नविकरण गरिरहेको तर  मार्क्सवादीहरु भने जडता या दक्षिणपंथी विचलनको शिकार भइरहेको बताउनुभयो ।

त्यसैगरी प्रतिरोधका सचिवालय सदस्य प्रमोद धितालले आन्दोलनमा आएको विचलन र भ्रष्टिकरणको कारण  मार्क्सवादलाई ठीक ढंगले अध्ययन नगर्नु, नेतृत्व पंक्तिमा रुपान्तरणको अभावका कारण त्यसलाई विकृत बनाउने काम भएको उल्लेख गर्दै नयाँ पुस्ता फेरि एकपटक  मार्क्सका विचारहरुतर्फ फर्किनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखक महेन्द्र महक, बुद्धिजीवी विरेन्द्र वली, मार्क्सवादी ज्ञानशालका अध्यक्ष बुद्धिप्रकाश धिताल लगायतका सहभागीहरुले अध्ययनका कुनै पनि विषयहरु मार्क्सका विचारहरुबाट अछुतो नरहेको चर्चा गर्दै मार्क्सवादका अनुयायीहारुले दक्षिणपंथी संशोधनवादी विचलन र जडसूत्रवादी समस्याबाट मुक्त हुँदै मार्क्सका कालजयी विचारहरुको गम्भीर अध्ययन सहित समाजका वर्गीय समस्याहरु समाधान गर्नका लागि क्रियाशील हुनुपर्ने बताउनुभयो ।

प्रमोद धितालबाट ।