• बैशाख २७ २०८३, आईतवार

सत्तारूढ दलभित्रै माओवादी केन्द्र नेतृत्वको मोर्चाबन्दी कहाँ पुग्यो ? के भन्छन् नेताहरू ?

बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचन पश्चात् सत्तारूढ दलभित्रै मोर्चाबन्दी बन्ने उदघोष गरे ।

उनले माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेसपाको छुट्टै मोर्चाबन्दी बन्ने उदघोष गरेका थिए । यद्यपि उदघोषको एक महिना बित्नै लाग्दा पनि उक्त मोर्चाबन्दीले हालसम्म आकार लिन सकेको छैन ।

मोर्चाबन्दीलाई आकार दिन यी चार दलका नेताहरूको कसरत भने जारी नै छ । आफूहरूले सातामा दुई–चार पटक मोर्चाबन्दीबारे छलफल गर्दै आएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

माओवादी केन्द्र नेतृत्वको मन्त्रिपरिषद्को पूर्णता, उपनिर्वाचन र आन्तरिक गृहकार्यको व्यस्तता देखाउँदै मोर्चाबन्दीमा विलम्ब भएको चार दलका शीर्ष नेता स्वीकार्छन् । यद्यपि ढिलो–चाँडो मोर्चाबन्दी गरेरै छोड्ने जसपा बताउँछ ।

चार दल मिलेर मोर्चाबन्दी बनाए वर्तमान सत्ता गठबन्धन टिकाउन थप बल पुग्नेछ । यहीँ बुझेर प्रचण्ड, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको पार्टी मोर्चाबन्दीमा लागेको राजनीतिक वृत्तमा चर्चा छ ।

तथापि यसबारे यी चारका दलका शीर्ष नेताहरूको भनाइ भने फरक छ । उनीहरूले बताए अनुसार अहिले मोर्चाबन्दी वा कार्यगत एकता गर्ने र अन्ततः पार्टी एकता गर्ने हो । दूरगामी रणनीतिसहित मोर्चाबन्दीमा लागेको उनीहरूको भनाइ छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साह भन्छन्, ‘मार्चाबन्दी आफैमा एउटा महत्वपूर्ण सामुहिक निर्णय हो । माओवादी एक्लैले चाहेको पनि होइन । यद्यपि यसमा हाम्रो केही महत्वपूर्ण भूमिका नभएको होइन । तर, वर्तमान सरकार टिकाउन वा सत्तामा रहिरहन यसो गरिएको हो भन्नेमा केही सत्यता हुनसक्छ । तर, हाम्रो दीर्घकालीन लक्ष्य भनेको पार्टी ध्रुवीकरण नै हो । यसलाई अनेकौँ अर्थमा अथ्र्याए पनि हाम्रो अन्तिम लक्ष्य पार्टी एकता हो । यसकै लागि हामी मोर्चाबन्दी गर्ने तयारीमा छौँ ।’

साहले मोर्चाबन्दीबारे लामै प्रष्टिकरण दिए पनि तर्कसंगत जवाफ भने दिएनन् । तर, मोर्चाबन्दी छिट्टै गर्ने तयारी भएको बताए । प्रचण्ड नेतृत्वको सत्ता टिकाउने खेल त होइन ? भन्ने प्रश्नमा उनले घुमाउरो अर्थमा मोर्चाबन्दीको उद्देश्य सत्ता टिकाउनु रहेको स्वीकार्छन् ।

त्यस्तै एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीको मत पनि साहसँग मिल्दोजुल्दो छ । उनले पनि मोर्चाबन्दी गर्नुलाई सत्ता टिकाउनुसँग जोड्छिन् । यद्यपि मोर्चाबन्दी पश्चात् दलगत एकताबारे झाँक्री अनविज्ञ रहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘मोर्चाबन्दी गर्नु आफैमा सकारात्मक पक्ष हो । एकता नै बल हो भन्ने कुरा मोर्चाबन्दीले पुष्ट्याइ गर्ने नै छ । तत्काल चार दल मिलेर मोर्चाबन्दी गर्ने तयारीबारे हाम्रा कोसिस हुँदै आएका छन् । तर, निकट भविष्यमा पार्टी एकता गर्ने मलाई जानकारी छैन । त्यो समयले बताउँला । अहिले यसै भन्नसक्ने अवस्था देखिँदैन ।’

‘हामीले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै हाम्रो पार्टीसँग विचार मिल्नेसँग एकता गर्ने बताएका थियौँ । मोर्चाबन्दी, कार्यगत एकता गर्न हामी तत्पर छौँ । हामीले गत माघमै एकताका लागि आधिकारिक निर्णय गरिसकेका छौँ । यसबारे हाम्रो दुईमत छैन,’ ‘जसपा नेता पूर्णबहादुर बस्नेत भन्छन, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग हाम्रो मोर्चाबन्दी वा कार्यगत एकता के गर्ने भन्ने सम्बन्धमा गम्भीर रुपमा छलफल भइरहेको छ ।’

त्यसैगरी नेसपाका नेता तथा पूर्वसांसद भक्तबहादुर शाह भन्छन्, ‘विगत लामो समयदेखि हामी टुटफुट र विभाजनबाट सिकार हुँदै आएका छौँ । यसलाई रोक्न हरहमेशा कोसिस नगरिएको होइन । तर, संयोगले त्यसो हुन सकेको छैन । अब हामी विभाजनभन्दा एकता उन्मुख हुन जरुरी छ । विभाजनले हामीलाई कमजोर बनाउँछ । यसर्थ अब विभाजन नभई वामपन्थी शक्तिहरू एक हुन जरुरी छ । यसका लागि हामी मोर्चाबन्दी वा कार्यगत एकता गर्न तयार छौँ । हाम्रो औपचारिक निर्णय पनि भईसकेको छ । चार दलीय मोर्चा पनि छिट्टै हुने सम्भावना छ ।’

नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच तीन महिना अगावै मोर्चाबन्दीको तयारी भएको थियो । तर, माओवादी केन्द्र यसबारे गम्भीर नभएकोले ढिलाइ भएको एकीकृत समाजवादी बताउँछ ।

उसले माओवादी केन्द्र सरकार फेरबदलमै लागेकोले ढिला भएको अरोप लगाएको हो । केन्द्रदेखि प्रदेशसम्मको सरकार फेरबदलमा आएको बदलापका कारण मोर्चाबन्दी बन्न ढिला भएको हो । त्यसलगत्तै उपनिर्वाचनले पनि ढिलाइ भयो । अब छिट्टै मोर्चाबन्दी हुने एकीकृत समाजवादीको भनाइ छ ।