काठमाडौं । दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन् ।
हजुरबुवा-हजुरआमा चौपाया चराउन गएको समयमा आफूमाथि बुवाले बलात्कार गरेको किटानी जाहेरी पीडितले वैशाख २ गते दिएकी छन् । उनकी आमा विदेशमा छिन् । तीन वर्ष पहिले विदेश गएकी आमा यो बीचमा बिदामा आएर फेरि फर्केकी प्रहरी अधिकारीले जानकारी दिए ।
‘त्यसअघि पनि नाबालिग छोरीमाथि बाबुद्वारा बलात्कार भएको देखिन्छ,’ घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘तर बाबुले कसैलाई भनेमा ज्यान लिने धम्की दिँदै आएका रहेटछन् ।
नाबालिगले डरले कतै केही नभनेकी रहिछन् ।’ पीडित बालिकाका दाजु पनि छन् । उनी बसका परिचालक भएकाले धेरैजसो बाहिरै हुन्थे । घरमा कोही नभएको समयमा बाबुद्वारा छोरीको पटकपटक बलात्कार भएको खुलेको प्रहरी अधिकारी बताउँछन् । पछिल्लो घटनापछि भने बालिका सुटुक्क सानिमाको घर जान्छु भनेर घरबाट निस्केकी थिइन् ।
बास बस्न सानिमाको घर पुगेपछि बालिकाले सबै कुरा सानिमालाई भनिन् । त्यसपछि उनैले बालिकासहित प्रहरीमा आएर जाहेरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य जाँच रिपोर्टले पनि उनीमाथि बालात्कर भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । जाहेरी परेकै दिन प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिएको थियो ।