• बैशाख २७ २०८३, आईतवार

मन्त्रिमण्डलमा समावेशीता नभएको भन्ने प्रश्नको जवाफमा देउवाले भने,‘सबैलाई मन्त्री बनाउन सकिँदैन’

बैशाख २१ २०८०, बिहीबार

काठमाडौं । पार्टीबाट ८ जनालाई सरकारमा पठाउँदा समावेशितामा ध्यान नदिएको विषय कांग्रेस पदाधिकारी बैठकमा उठेको छ ।
बिहीबार धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा मन्त्रिपरिषद्मा पठाउँदा समावेशी प्रतिनिधित्व नभएको विषय सहमहामन्त्री जीवन परियारले उठाएका थिए ।

सहमहामन्त्री परियारले ८ जनालाई सरकारमा पठाउँदा दलित, मधेसी र पिछडा वर्गको प्रतिनिधित्व किन गराइन भन्ने प्रश्न सभापति देउवालाई गरेका थिए ।

‘सहमहामन्त्री परियारजीले मन्त्री समावेशी प्रतिनिधत्व किन भएन भनेर गुनासो गर्नुभयो,’ एक पदाधिकारीले भने, ‘यसले कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएन र हामी समावेशी भएनौँ भन्नुभयो ।’

जवाफमा देउवाले गठबन्धन सरकारमा सबैलाई मन्त्री बनाउन नसकिने बताएका थिए । ‘यो गठबन्धन सरकार हो । गठबन्धन सरकारमा सबैलाई मन्त्री बनाउन सकिँदैन । अब चुनावमा बहुमत ल्याएर एकल सरकार बनाएपछि मात्रै सबैलाई समेट्न सकिन्छ,’ देउवाको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने । सभापति देउवाले अहिले सम्भावना नभएको र अर्को पटकको मन्त्रिपरिषद्मा स्थान दिन सकिने बताएका थिए ।