काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित केही पहाडी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका धेरै ठाउँमा दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
बेलुकीपछि भने झरी रोकिने उनले बताए । उनका अनुसार पश्चिमी वायु र स्थानीय वायु सक्रिय बन्दा बिहानैदेखि पानी परेको हो । बिहान मौसममा केही सुधार हुने सङ्केत देखिए पनि फेरि पश्चिमी वायुको अर्को प्रणाली भित्रिने अवस्थामा रहेकाले मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको उनले बताए।
यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक,दुई ठाउँमा पनि पानी पर्ने सम्भावना छ । मौसमविद् झाका अनुसार तराईका धेरैजसो जिल्लामा भने पानी परेको छैन । मौसम बदली भने भइरहेको छ ।
पहाडी भेगमा पर्सिसम्म नै मौसम बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले तीनरतीन दिनको मौसम पूर्वानुमान गर्दै आएको छ ।