काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको बताएको छ।
नेपालीलाई नक्कली कागजात खडा गरेर भुटानी बनाउने र तेस्रो मुलुक पठाउने प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेपछि एमालेको यो धारणा आएको हो।
‘हामीले यस प्रकरणलाई गम्भीर रूपले लिएका छौं। यस्ता खालका प्रकरणमा कानुन पालनालाई सघाउने एमालेको स्थायी नीति छ,’ पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सेतोपाटीसँग भने,‘सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्।’
यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले बताए। ‘यो प्रकरण आएपछि हामीले विस्तृत छलफल गर्न पाएका छैनौं,’ उनले थपे, ‘राज्यका निकायलाई सहयोग गर्ने नै हाम्रो नीति छ। यसमा प्रतिबद्ध छौं।’
नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन्।